काठमाण्डौ, २२ मार्च, नेपाली हिरो विराज भटट्ले भोजपुरी फिल्ममा स्थान बनाईरहेका बेला गायक राजेशपायल राई भने गीत मार्फत् भोजपुरी गीतमा स्थान बनाउन लागेका छन् । राजधानीमा मंगलवार आयोजित एक कार्यक्रममा उनले यसका लागि मिथिला मल्टी मिडिया फिल्मस्सँग भोजपुरी एल्वमका लागि सम्झौता गरेका छन् ।भारतीय कम्पनी टि सिरिजले उत्पादन तथा वितरण गर्ने भनिएको एल्वममा मिथिला मल्टी मिडियाका तर्फबाट सञ्चालक तथा संगीतकार सन्तोषराजले गायक राईसँग सम्झौता पत्रमा हस्ताक्षर गरे ।
‘शिलाके जवानी’ नाम रहने उक्त एल्वमका लागि राजेशपायल राईले नौ गीतमा स्वर दिनेछन् । यसका लागि दुई लाख पारिश्रमिक लिएको जानकारी पत्रकार सम्मेलनमा दिईएको थियो । उनीसँग एक गीतमा भोजपुरी गायिका कल्पनाले पनि साथ दिनेछन् ।
लोक, आधुनिक र पाश्र्व गायनमा उत्तिकै सफल गायक राई यतिबेला गायन करियरको शिखरमा छन् । चाँडै नै एक साथ तीन एल्वम सार्वजनिक गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा नाम लेखाउने ध्याउन्नमा रहेका राई स्टेजमा पनि सबैभन्दा रुचाईएका गायक हुन् । आफ्नो भोजपुरी गीतको यात्राले बाँकीका लागि पनि बाटो खुल्ने र नेपालीहरुको गायन करियर बिस्तार हुने उनको अपेक्षा छ ।

